Monday, December 26, 2016

ठोसे फलामखानी

ठोसे फलामखानीमा अख्तियार पस्यो, चार वर्षमा तीन करोड डुब्यो

शेर्पा भन्छन्- स्थानीयले बाटो खन्न दिएनन्, सरकारले बिजुली दिएन

 पुस, काठमाडौं । खानी तथा भूगर्भ विभागले तत्काल फलामखानी उत्खननका लागि सम्भव ठानेको रामेछापको ठोसे फलामखानीले अनुमति लिएको ४ वर्ष बित्दासम्म उत्पादन गर्न सकेन ।
लामो समय उत्पादन नथालेपछि अहिले यसको म्याद नै गुज्रन लागेको छ । यसले उत्खनन् पाएको म्याद फागुन २३ गतेबाट सकिँदैछ । म्याद सकिँनै लाग्दा ठोसे फलामखानी उत्खननको जिम्मा लिएको एनएण्डसी मिनरल्सका प्रमुख वाङ्छु शेर्पा उत्पादन थाल्न हस्याङ- फस्याङ गरिरहेका छन् ।
यता उनको तीन करोड रुपैयाा डुबिसकेको छ । यदि फागुन २३ गतेसम्म पनि उनले उत्पादन गर्न सकेनन् भने उनको इजाजत रद्द हुन्छ र यसमा गरेको लगानीको उपलब्धी शुन्य हुन्छ ।
चार वर्षसम्म उत्खननको काम अघि नबढ्नुमा सरकारी निकायहरुको दोष रहेको शेर्पाको भनाइ छ । शेर्पाले भने- ‘नेपालमा काम गर्न गाह्रो रहेछ, भर्खर अनुमति पाएको थिएँ, अख्तियारले फाइल लगिदियो अनि काम गर्ने मनस्थिति नै भएन, जोश जाागर नै मर्‍यो, केवल निर्णय कुरेर बसियो ।’
उनका अनुसार अख्तियारपछि ठोसे फलामखानीको फाइल फेरि मन्त्रालयमा अड्कियो । सरकारी निकायमा ठोसे फलामखानीको फाइल २ वर्ष भन्दा बढी समय अड्कियो ।
शेर्पाले ०६४ सालमा खोजतलास अनुमति पाएका थिए । खोजतलासको कामपछि उनले उत्खननको लाइसेन्स लिए । तर, सोचेजसरी उत्पादन थाल्न सकेनन् । किनकि ०६९ सालको भदौमा उत्खनन् लाइसेन्स पाएपछिका २ वर्ष अन्योलमै बिते ।
शेर्पाले किन लगानी गरे खानीमा ?
wangchhu-sherpa
वाङ्छु शेर्पा
रामेछापको ठोसे नजिकैको गाउँ गुम्देलमा जन्मेका शेर्पा अहिले पनि चिनियाँ व्यवसायी हुन् । उनको तिब्बतको ल्हासा शहरमा शेर्पा फुड इण्डष्ट्रिज अझै पनि सञ्चालनमा छ । सन् २००० मा तिब्बत पुगेका शेर्पाले तिब्बतका कैयन खानी व्यवसायीसँग भेट्ने मौका पाए ।
चिनियाँ खानी व्यवसायीहरुसँग आफ्नै गाउँ नजिक पनि फलामखानी भएको बताएपछि उनलाई त्यहाँका व्यवसायीले नेपालमा खानीको व्यवसाय थाल्न सुझाव दिएका थिए । साथै सहयोग समेत गर्ने बाचा गरे ।
नेपाल आएर सबै काम सकेर उत्पादन गर्न अनुमति लिएको केही समयमै उनको फाइल अख्तियारमा गयो । जसबाट उनी निराश भए । अहिले झन्डै उत्खननको अनुमति नै गुम्ने खतरा छ ।
व्यवधान नै व्यवधान
शेर्पाका अनुसार अख्तियार र मन्त्रालयबाट फाइल खानी विभागमा फिर्ता आएपछि उनले पुनः काम अघि बढाए । खानीसम्म पुग्ने सडक निर्माणमा स्थानीयको विरोध आयो । जुन अहिले पनि कायमै छ ।
ठोसे बजारदेखि आरुबोटेको खानी ४ किमी टाढा छ । यो सडकखण्डमा सानो खालको ट्रयाक मात्रै खुलेकाले खानी सञ्चालनमा ल्याउन दुई लेनको सडक निर्माण गर्न जरुरी थियो । तर, स्थानीयको अवरोधले गर्दा सडकको स्तरोन्नति गर्ने कार्यसमेत वीचमै रोकियो ।
ठोसेबासीको बिरोधपछि शेर्पाले बुर्केबाट आरुबोटेसम्म घुमाएर सडक पुर्‍याए, जसको लम्बाई १७ किलोमिटर छ । भूकम्पका कारण क्षति पुगेपछि शेर्पाले आफ्नै लगानीमा निर्माण गरेको बुर्के-आरुबोटे सडक अहिले मर्मत गरिरहेका छन् ।
आरुबोटेसम्म विद्युत पुर्‍याइदिन उनले विद्युत प्राधिकरणलाई आग्रह गरेको पनि ४ वर्ष बित्यो । तर, खानीलाई आवश्यक पर्ने लाइन अहिलेसम्म जडान हुन सकेको छैन । भर्खरै दुई फेजको लाइन गएको छ । तर, उनको खानीका लागि ३ फेजको लाइन आवश्यक छ ।
सुरुवातमा वार्षिक तीन टन फलाम उत्पादन गर्ने उनको योजना थियो । लाइसेन्स नै खारेज हुने स्थिति आएपछि उनी अहिले तत्काललाई आइरनओर निकाल्ने र सिमेन्ट उद्योगमा बेच्ने योजनामा पुगेका छन् ।
उनले भने- ‘झन्डै तीन करोड भन्दा बढी रकम डुबिसक्यो, अब तत्काल आइरनओर निकालेर भए पनि बेच्न सुरु गर्ने काममा जुटेको छु ।’
केमा काम लाग्छ आइरनओर ?
देशमा कैयन सिमेन्ट उद्योगहरु खुलिरहेका छन् । कैयन सञ्चालनमा आइसकेका पनि छन् । यस्ता सिमेन्ट उद्योगलाई सिमेन्ट उत्पादनका क्रममा आइरनओरको आवश्यकता पर्छ ।
उदयपुर सिमेन्ट उद्योगले शेर्पासँग अहिले आइरनओरको माग गरेको छ । साथै हेटौंडा सिमेन्टले पनि उनलाई आइरनओर खरिद गरिदिने आश्वासन दिएको छ ।
नेपालबाट चीनको युनान प्रान्तसम्म पनि आइरनओर निर्यात गर्ने उनको लक्ष्य छ ।

Sunday, October 23, 2016

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा दुर्घटना वीमा दावी रकम ११ लाख भुक्तानी



असोज १२, रामेछाप । नेपाल लाइफ इन्स्योरेन्स क.लि ले दुर्घटनाबाट मृत्यु भएका बसन्तपुर–१, सर्लाहीका रविन्द्र कुमार ठाकुरका परिवारलाई दाबि भुक्तानी गरेको छ ।
कम्पनीले बुधबार एक कार्यक्रमका बीच उप–शाखा कार्यलय प्रमुख राम खड्का र एजेन्सी मेनेजर  कृष्णबहादुर थापाले ठाकुरको परिवार राम दुलारी देवी हजामनीलाई ११ लाख १३ हजार रुपैया हस्तानतरण गर्नु भएको हो ।
ठाकुरको २०७३ साल श्रावण २६ गते साप्ताहिक हाटको लागी मन्थलीबाट धोवी बजार हाटको लागी  जाने क्रममा गाडी दुर्घटनाम परि उपचारको क्रममा त्रि.वि शिक्षण अस्पतालमा  भर्ना भएको १ हप्तामा निधन भएको थियो ।
ठाकुरले २०७२ साल बैशाष महिना ३१ गते ५ लाख ११ हजारको विमा गराउनु भएको थियो । विमाको किस्ता बापत २ किस्तामा ९० हजार रुपैया जम्मा गर्नु भएको थियो । उहाँले कम्पनी बाट विमाङ्क रकम ५ लाख ११ हजार, दुर्घटना विमा बापत ५ लाख ११ हजार र वोनस ६६ हजार ४ सय ३० मात्र गरी १० लाख ८८ हजार ४ सय ३० रुपैया र ठाकुरले अभिकर्ता बापत पाउनु पर्ने रकम २५ हजार गरी जम्मा ११ लाख १३ हजार रुपैया लिनु भएको छ ।
ठाकुरको परिवारले पनि जिवन विमा २ लाख ४५ हजारको एकल भुक्तानी वीमा बापत २ लाख २ हजार २ रुपैया जम्मा गर्नु भएको छ । यसै विचमा युवा साझेदारी नेपालका अध्यक्ष जित बहादुर खड्काले वीमाले मृत्यु भएमा रकम  दिन्छ भन्ने सुन्नमा आएपनि आज प्रत्यक्ष देख्दा यसको महत्व रहेको बताउनुभयो ।
ठाकुरका जेठा छोरा राजकुमार ठाकुरले बुबाले जानी नजानी वीमा गर्नु  भएपनि आज यसै वीमा रकमले  बन्धकी रहेको घर जगा यसै रकमबाट असुल्ने कुरा सुनाउनुभयो । उहाँले विमा भुक्तानी रकम लिन पनि अफिसले निकै सहजबातावरण बनाइदिएकोले नगद भुक्तानी लिन सजिलो भएको बताए । एजेन्सी मेनेजर कृष्ण बहादुर थापाले व्यक्तिको जीवनमा आइपर्ने जोखिमलाई चन्दा सहयोगबाट होइन अब जीवन बीमाको क्षतिपुर्तिबाट  लिने बानी बसाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सचिव लेख बहादुर कार्की, राप्रपा पार्टीका जिल्ला सचिव शिवजी अधिकारी, एजेन्सी मेनेजर श्रीराम सुवेदी,सावित्रा के.सी,पत्रकार, विभिन्न संघसँस्थाका प्रतिनिधि रहेको थियो ।